मलंगवा : नक्कली नोटसहित ५ जना पक्राउ

मलंगवा : सर्लाहीबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको मलंगवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन्।

महोत्तरीको सोनमा गाउँपालिका-७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका-९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका-७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका-२, कै ३५ वर्षीया सिहानता कुमारी देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

भारतबाट बा. ४७ प. ८७५७, बीआर. ३० सी. ४७६६ र बीआर. ३० एआई. ३०४९ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सूराकीको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एकरएक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै