मलङ्गवाका १९ अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, १५ वटा बन्द गर्न निर्देशन

अधिकाङ्श निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक फरार

मलंगवा : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवाका अस्पतालको अनुगमन गरेका छन् ।

बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिए ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि मुख्यमन्त्री सिंहले क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिए । उनले प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णताका साथ परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गरिरहेको हल्ला फिजिएपछि मलङ्गवा बजारका अधिकाङ्श निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए । ‘चार–पाँच वटाबाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये तीन वटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमतिपत्र फेला परे,’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने ।

सम्बन्धित समाचार

सबै