धनुषामा सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड

धनुषा : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित समूहले अस्पताल तोडफोड गरेको छ।

लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवकी २८ वर्षीया श्रीमती अनिताको आज बिहान ९ बजे मृत्यु भएको थियो। सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

सुत्केरी व्यथा सुरु भएपछि शनिबार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो। आइतबार करिब ११ बजे शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो। बच्चा सकुशल भए पनि आमाको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रिएका हुन्।

मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। उनीहरू तोडफोडमा उत्रिएपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।

घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएका थिए। पछि अवस्था सामान्य बनेको थियो।

सम्बन्धित समाचार

सबै