सर्लाहीमा घाँटी काटेर हत्या गरेको आरोपमा २६ वर्षीय भारतीय जेल चलान

हरिवनः घाँटी काटी हत्या गरेको आरोपमा पक्राउ परेका भारतको सीतामढी सोनवर्षाका एक जनालाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि जेल चलान् गरेको छ।

घाँटी काटेर टाउको र शरीर बेग्लाबेग्लै ठाउँमा फालेको आरोपमा भारत सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरौना भिलेज पोस्ट मनियारी वडा नम्बर ५ बस्ने २६ वर्षीय रञ्जित बैठा भनेर चिनिने रन्जित कुमार पुर्पक्षका लागि जेल चलान भएका हुन्।

जिल्ला अदालतले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। प्रहरीले बैठालाई घटनाको ९ महिनापछि अर्थात गत वैशाख ६ गते सर्लाहीको मलंगवा नगरपालिका–८ गोरखकालीस्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागिरहेको महायज्ञ मेलाबाट पक्राउ गरेको थियो।

उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरका प्रतिवादीको अभियोग लगाएर प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। गत वर्षको साउन २५ गते सर्लाहीको हरिवन नगरपालिका-४ स्थित लखन्देही खोला किनारामा भारतको सीतामाढी जिल्लाको मनियारिका २३ वर्षीय गोलु भनिने अभिषेक राजको टाउको भेटिएको थियो।

त्यसको केही दिनपछि अर्थात् साउन २७ गते लालबन्दी नगरपालिका-१७, रानिगन्ज जंगलमा अभिषेकको शरीर भेटिएको थियो। केही दिनपछि मात्र मृतकको पहिचान खुलेको थियो।

मृतकका बुवा नेपाल आएर सनाखत गरेका थिए। साथीसँग सर्लाही घुम्न आएका बेला उनको हत्या भएको थियो।

सम्बन्धित समाचार

सबै