९ महिनामा सप्तरीमा १३ वटा पुल निर्माण

सप्तरी : चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ ।

सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्र गतिमा जारी छ । शम्भुनाथ नगरपालिका–११ देवधारमा छ करोड ५७ लाख ८२ हजार रुपैयाँ र छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजार रुपैयाँको लागतमा पुल निर्माण भएका छन् ।

यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड चार लाख ५४ हजार रुपैयाँको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८५ लाख ६३ हजार रुपैयाँ खर्चेर पुल बनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए ।

सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजार रुपैयाँको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ ।

यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजार रुपैयाँको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए ।

यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै छ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ ।

उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ ।

उक्त पुल नौ करोड ७५ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।

सम्बन्धित समाचार

सबै