
लालबन्दी : नेपाल प्रहरीले ६ वटा प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार गृह मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको हो। कर्णाली प्रदेशका प्रहरी प्रमुख भने यथावत रहेका छन्।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी प्रमुखमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ भने मधेश प्रदेशको प्रमुखको जिम्मेवारी उमा प्रसाद चतुर्वेदीले पाएका छन्। बागमती प्रदेशको प्रहरी प्रमुखमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम प्रदेशमा डम्बर बहादुर विकलाई पठाइएको छ। यसका साथै, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ।