लालबन्दी आउँदै गरेको दुर्घटनाग्रस्त विङ्गरमा थिए १४ यात्रु, दुई जना अधिकृत पनि

लालबन्दी : मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा यात्रुबाहक विङ्गर गाडी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटनापछि गाडी सल्लाको रुखमा अड्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका यात्रुहरू लालबन्दी नगरपालिकाका कर्मचारी रहेको खुलेको छ । लघुवित्तसम्बन्धी तालिममा सहभागी भएर परवानीपुरबाट चित्लाङ अवलोकन भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको हो । गाडीमा सवार यात्रुहरू वडा नम्बर १५ र १६ का हुन् भने दुई जना नगरपालिकाका शाखा अधिकृतहरू कमल थापा र समीर सुवेदी पनि गाडीमा सवार थिए ।

दुर्घटनाको खबर पाउनेबित्तिकै आफूहरू हेटौंडा जाँदै गरेको लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बहादुर बलले सर्लाही न्युजलाई जानकारी दिए । गाडीमा ड्राइभरसहित जम्मा १४ जना सवार थिए।

सम्बन्धित समाचार

सबै