लालबन्दी : मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्री फेरबदल गर्ने भएको छ। सरकारमा सहभागी भएको करिब एक वर्षपछि जनमतले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टी कार्यालय स्रोतका अनुसार प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ। उनीहरूको स्थानमा वसन्त कुशवाहा र सन्जय यादवलाई मन्त्री बनाउने तयारी गरिएको स्रोतले जनाएको छ।
दुवै नयाँ मन्त्रीको नाम टुंगो लागिसकेको जनाइएको छ भने शपथ ग्रहण कार्यक्रम भोलि शुक्रबारका लागि तय गरिएको छ।
जनमत पार्टीले नेतृत्व गरिरहेको मन्त्रालयमा देखिएको कार्यसम्पादनका विविध विषयमा पार्टीभित्रै आलोचना भइरहेका बेला यो फेरबदल हुन लागेको हो।