कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीय वृद्धाको मृत्यु

लालबन्दी : सर्लाहीमा कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा बिहीबार दिउँसो ३ बजेतिर कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

दिउँसो करिब ३ बजेतिर गोरखकालीतर्फबाट मलंगवातर्फ जाँदै गरेको बीआर ६ एई ९६८८ नम्बरको भारतीय कारले मलंगवा नगरपालिका–३ बस्ने ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो ।

खातुन पैदल हिँडिरहेकी वेला कारले ठक्कर दिँदा उनको दाहिने कुममा गम्भीर चोट लागेको थियो ।

घटनापछि तत्काल उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारका क्रममा करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

ठक्कर दिने कार र चालक मलंगवा नगरपालिका –८ निवासी ३० वर्षीय अमित गुप्तालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरपूर्वमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै