सर्लाहीमा बसको ठक्करबाट मृत्यु भएकी युवतीको शव परिवारले बुझे, ९ लाख क्षतिपूर्तिमा सहमति

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जमा बसको ठक्करबाट मृत्यु भएकी २२ वर्षीया युवती सोना पन्तको शव परिवारले बुझेका छन्।

आज जिल्ला प्रशासन कार्यालय, सर्लाही मलंगवामा बसेको छलफलपछि ९ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमति जुटेपछि परिवारले शव बुझेका हुन्।

तीन दिनअघि रानीगन्जमा यात्रुबाहक बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा सोना पन्तको घटनास्थलमै मृत्यु भएको थियो। मृतककी आमा–बुवा भारतमा रहेकाले छोरीको निधनको खबर पाएपछि नेपाल आएका थिए।

ठक्करपछिको आक्रोशमा स्थानीय बासिन्दाले बस चालकलाई कारबाहीको माग गर्दै र १५ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै शनिबार पूर्व–पश्चिम राजमार्गसमेत केही समयका लागि अवरुद्ध गरेका थिए। आन्दोलन चर्किएपछि प्रहरी घटनास्थलमा पुगेको थियो र राजमार्ग खुलाउन प्रयास गरिएको थियो।

घटनालगत्तै मृतकको शव परिवारले लिन अस्वीकार गर्दै आएका थिए। तर, आज भएको छलफलमा लालबन्दी–१७ का वडा सदस्य दीपक कार्कीले पन्त परिवारलाई ९ लाख रुपैयाँ राहतस्वरूप दिने सहमति जुटेको जानकारी दिएका छन्। “शव बिग्रन थालेको, परिवारको पीडा थपिएको अवस्थामा हामी ९ लाखमा सहमति गर्न बाध्य भयौं,” उनले भने।

प्रहरीका अनुसार रानीगञ्जबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २६४५ नम्बरको म्याजिक सवारीलाई ठक्कर दिएको थियो।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनीमाथि जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै