मलंगवा : गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद रमेश लेखकले मधेस प्रदेशमा पनि सरकार पालोपालो नेतृत्व गर्ने समझदारी भएको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित कांग्रेसको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा उनले पार्टीको नेतृत्वमा सरकार निर्माणमा कांग्रेस गम्भीरतापूर्वक लागिपरेको बताएका हुन्।
लामो समयसम्म कांग्रेसको नेतृत्वमा प्रदेश सरकार नबनेको र कार्यकर्ताहरूले गुनासो गर्नु पनि उचित भएको स्वीकार गर्दै अब त्यो अवस्थालाई परिवर्तन गर्न केन्द्रदेखि प्रदेशसम्म सक्रियता बढाइएको उनले उल्लेख गरे।
‘मधेस प्रदेशको सरकार पनि हामीले पालोपालो नेतृत्व गर्ने भनेर समझदारी गरेका छौँ,’ मन्त्री लेखकले भने, ‘लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने साथीहरूको गुनासो उचित हो। हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ र अब यसलाई सम्बोधन गर्न लागिपरेका छौँ।’
गृहमन्त्री लेखकले अहिले प्रदेश र संघ दुवै तहमा कांग्रेस र एमालेबीचको संयुक्त सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको सहकार्यमा जटिलता उत्पन्न हुनु स्वाभाविक भएको धारणा राखे। यस्ता जटिलता समाधान गर्नका लागि दुवै पार्टीबीच संयन्त्र निर्माण गरिएको जानकारी पनि उनले दिए ।
उनले पछिल्लो १० महिनामा देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आएको दाबी गर्दै सरकारको प्रयासले अर्थतन्त्रलाई सुधारको दिशातर्फ लैजान सफल भएको उल्लेख गरे।
कार्यक्रममा उनले पार्टी कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्दै आगामी दिनमा कांग्रेसको भूमिकामा मजबुती आउने विश्वास व्यक्त गरे ।
त्रिभुवन विमानस्थलमा भिजिट भिसामा भएको तस्करीमा गृहमन्त्री लेखको संलग्नता रहेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । विमानस्थल अध्यागमनका प्रमुखसँग मिलेर दैनिक रूपमा भिजिट भिसाबाट बाहिरिने नेपालीसँग करोडौँ रुपैयाँ उठाएको उनीमाथि प्रतिपक्षीहरूले आरोप लगाइरहेका छन् ।