लालबन्दी : जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा गरिएको छापामारीका क्रममा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
अख्तियार स्रोतका अनुसार कुशवाहाको घरबाट विभिन्न विकास योजनाका कागजातहरू पनि बरामद गरिएको छ। स्वकीय सचिव कायस्थ पक्राउ परेका भए पनि सांसद कुशवाहा भने हालसम्म सम्पर्कविहीन छन्।
गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको जनाइएको छ। उक्त सूचनाअनुसार प्रदेश सरकारबाट सांसद कुशवाहाको भागमा परेको योजनाहरू उनले बिक्री गरेको आशंका गरिएको छ।
सांसद कुशवाहा मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।