जनकपुर : भारतमा हुन लागेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिन लागिएको झाले बताए।
कार्यालयले एक सूचना जारी गर्दै भनेको छ- ‘यही जेठ ०५ गते शनिवार देखि ०७ गते सोमबारसम्म तीन दिनका लागि भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ। ०८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ।’