नेपाल–भारत सीमामा १० किलो गाँजासहित सर्लाहीका एक जना पक्राउ

सुरसंड । नेपाल–भारत सीमा क्षेत्रमा गोप्य सूचनाका आधारमा कारबाही गर्दै एसएसबीको टोलीले १० किलो २ ग्राम गाँजासहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। उक्त कारबाही सुरसंड बीओपी सहसराम अन्तर्गतको डी कम्पनीको टोलीले गरेको हो ।

एसएसबीका अनुसार सीमा स्तम्भ संख्या ३०४–५ नजिकै, सीमाबाट करिब ३०० मिटरभित्र विशेष निगरानी अभियान चलाइएको थियो । सोही क्रममा शंकास्पद अवस्थामा मोटरसाइकलमा आइरहेका एक व्यक्तिलाई रोकेर तलासी लिँदा उनको साथबाट १० किलो २ ग्राम गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा नं ५, सिसौटिया निवासी विवेक कुमार साह रहेका छन् । उनको साथबाट ‘एसपी साइन १२५ सीसी’ मोटरसाइकल पनि बरामद गरिएको छ, जसको दर्ता नम्बर स्पष्ट नभएको बताइएको छ ।

एसएसबीले बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका आरोपीलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया सुरु गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै