लालबन्दी : काभ्रेको रोशी खोलाले बगाएको पुलका पार्टपुर्जा चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जेठ ११ र १२ गते परेको अविरल वर्षाले रोशी गाउँपालिका-७ र नमोबुद्ध नगरपालिका-६ को सिमानामा रहेको पक्की पुल रोशी खोलाले बगाएर क्षति पुर्याएको थियो।
क्षति भएको पुलमा प्रयोग हुने फलामका पार्टपुर्जाहरू चोरी गरी दुई वटा टिपरमा लोड गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा. ५ ख. ४६२६ नम्बरको टिपर र बा. २ ख. ४००१ नम्बरको टिपरमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
भारत बिहार मोतिहारी घर भई बनेपा-७ तरकारी बजार बस्ने ३२ वर्षीय मन्टुकुमार र सर्लाही मलंगवा घर भई सोही ठाउँ बस्ने ३९ वर्षीय जितेन्द्र पासवान पक्राउ परेका हुन्।
प्रहरीले बा. ५ ख. ४६२६ नम्बरको टिपर चालक काभ्रेकै ४७ वर्षीय मानबहादुर तामाङ र बा. २ ख. ४००१ नम्बरको टिपर चालक ४० वर्षीय रमेश लामालाई पक्राउ गरेको हो।
उनीहरू चारै जनामाथि प्रहरीले चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।