देशलाई उज्यालो बनाउने नेतृत्वको सम्मान, सर्लाहीमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन

लालबन्दी : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको छ। लामो समय अन्धकारमा रहेको मुलुकलाई लोडसेडिङमुक्त बनाउँदै उज्यालो नेपाल निर्माणमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

नागरिक अभिनन्दन मूल समिति सर्लाहीले बुधबार हरिवनमा आयोजना गरेको विशेष समारोहमा घिसिङलाई नागरिक सम्मान प्रदान गरिएको हो ।

समितिले घिसिङको राष्ट्रसेवाप्रति समर्पित योगदान, दूरदृष्टिपूर्ण सोच, र कुशल नेतृत्व क्षमताका कारण सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्वका रूपमा उनको सम्मान गरिएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नागरिक समाजका अगुवा नारायणबहादुर खपाङीले विकट चेपाङ बस्तीसमेत विद्युतीकरण गर्दै निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न सफल घिसिङको प्रयासको खुलेर प्रशंसा गरे । उनले भने, ‘जलविद्युत र सौर्य ऊर्जाको उत्पादनमा ऐतिहासिक फड्को मारी देशभित्र खपत गर्दै बाँकी विद्युत् भारत र बंगलादेशसम्म निर्यात गर्ने सम्भावनाको ढोका खोल्न घिसिङको नेतृत्व निर्णायक बन्यो ।’

अभिनन्दन मूल समितिका संयोजक धनबहादुर मिक्चनले घिसिङको इमानदारिता, अथक् परिश्रम र जनउत्तरदायी नेतृत्वले राज्यसंस्थामा सेवा प्रवाहको नयाँ उदाहरण स्थापित गरेको उल्लेख गरे। उनले थपे, ‘यो अभिनन्दन केवल एक व्यक्तिको सम्मान मात्र होइन, निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रद्धा हो ।’

कार्यक्रममा सम्बोधन गर्दै घिसिङले आफ्नो कार्यकालमा गरेका काम र योगदानको मूल्यांकन जनताले सकारात्मक रूपमा गरे पनि वर्तमान सरकारले आफूलाई शून्य अंक दिएको गुनासो गरे । उनले भने, ‘जनतालाई अँध्यारोमा राखेर विद्युत् आपूर्ति लिने उद्योगहरूबाट बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हट्नुपर्‍यो ।’

उनका अनुसार आजको दिनमा जनताको चाहना कुनै पार्टीको विचारभन्दा बढी प्रभावकारी सेवा, सुशासन, विकास र समृद्धि हो । लोडसेडिङ अन्त्य भए पनि अझै देशका धेरै क्षेत्र अँध्यारोमै रहेको उल्लेख गर्दै घिसिङले हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना औँल्याए ।

उनले स्वच्छ र हरित ऊर्जा स्रोतको रूपमा जलविद्युतको प्रयोगले पेट्रोल, डिजेल र एलपी ग्यासजस्ता प्रदूषक ऊर्जाको विकल्प निर्माण गर्दै हरित पर्यटन र कृषि विकासको बाटो खोल्न सकिने धारणा राखे।

कुलमान घिसिङको नेतृत्वले नेपाललाई लोडसेडिङमुक्त बनाएर उज्यालो बनाएको सन्दर्भमा आयोजित यो सम्मान समारोहमा व्यापक सहभागिता थियो । सर्लाहीका नागरिकहरूले उनीप्रति कृतज्ञता प्रकट गर्दै योगदानको उच्च मूल्यांकन गरेका थिए ।

सम्बन्धित समाचार

सबै