हरिवन : सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा करिब साढे ४२ लाख मूल्य बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्लाको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाइएको छ।
इलाका प्रहरी कार्यालय, कर्मैयाका अनुसार आज (बुधबार) बिहान ६:४० बजेको समयमा प्रहरी नायब निरीक्षक (प्रनानि) सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गरेको थियो ।
यही क्रममा वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा५ख ३०७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा ठुलो परिमाणमा खुद्रा सामानहरू फेला परेको हो।
ट्रकभित्र टायर, आपमा छर्ने विषादी, मोबिल, खाने तेल, ग्यास रेगुलेटर, मोटरपार्टस्, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक र कस्मेटिकलगायत सामानहरू रहेका र बिल-बिजक शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।
बरामद गरिएका सामानहरूको अनुमानित मूल्य रु. ४२,४०,३४७।- (बयालिस लाख, चालीस हजार, तीन सय सत्तचालीस) रहेको प्रहरीले जनाएको छ ।
शंकास्पद बिलबिजक र अवैध रूपमा सामान ढुवानी गरेको देखिएकाले थप अनुसन्धान र कारबाहीका लागि सामानसहितको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ।