मलंगवा : यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ।
शुक्रबार एक कार्यक्रमबीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा-५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गरेकी हुन्।
गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो।
कार्यालयका प्रमुख राकेश कुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायत सेवा प्रवाह गरिएको जानकारी दिए। उनले चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरु गरिएको बताए।
कार्यालय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो।