मलंगवा : गर्मीले आक्रान्त पारेको बेला प्राधिकरणले पटपटक विद्युत् कटौती गरेको भन्दै सर्लाहीको मलगंवामा स्थानीयले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरेका छन् ।
चर्को गर्मीमा अनियमित तरिकाले विद्युत् कटौतीका कारण आफूहरू हैरान भएको मलंगवामा आइतबार प्रदर्शनमा उत्रिएका एक युवाले बताए । उक्त घेराउ टोलीका अगुवा चन्दनकुमार सिंहले गर्मीले खपिनसक्नु भएको समयमा घण्टौँसम्म बिजुली काटिने समस्याबाट आजित भइरहेको गुनासो पोखे ।
वितरण केन्द्र अगाडि नाराबाजी र टायर बालेर प्रदर्शन गरेपछि आन्दोलित युवाले वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
अत्यधिक गर्मीले गर्दा पंखा नचलाए एकैछिन पनि बस्न नसक्ने अवस्था रहेको तर प्राधिकरणले अनेक बहाना गरेर बत्ती काट्न नछाडेको उनीहरूले गुनासो गरेका छन् ।
यता वितरण केन्द्रका प्रमुख इन्जिनियर यादवले भने गर्मीमा अत्यधिक तापक्रम र अधिक भारले गर्दा बेलाबेलामा बत्ती कटौती हुने गरेको स्विकारेका छन् ।