मधेश प्रदेशकी मन्त्रीका छोराले चलाएको कारले स्कुटरलाई दियो ठक्कर

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ भएको कारको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ गइरहेको कारले ठक्कर दिँदा स्कुटर चालक श्यामकुमार शर्मा घाइते भएका हुन् ।

उनलाई ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी शैलेन्द्र कुमार खड्काका अनुसार बा१५च ५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।

कार चालक सुमित शर्मासमेत सामान्य घाइते भएका छन् । कार चालक शर्मा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीका छोरा हुन् ।

मन्त्री तिवारीले छोरा–बुहारी कारमा गइरहेको अवस्थामा अचानक छोरा बेहोस हुँदा अनियन्त्रित भएको कारले स्कुटीलाई ठक्कर दिन पुगेको बताएकी छन् । दुर्घटनामा आफ्नो छोरासमेत घाइते भएको उनको भनाइ छ । सुमितको भने जनकपुरमै उपचार भइरहेको जनाइएको छ ।

डीएसपी खड्काले दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार

सबै