लालबन्दी : मनसुनमै खडेरी झेलेको मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा केही वर्षा भएको छ । २४ घण्टा यता मधेसमा सबैभन्दा धेरै वर्षा सर्लाहीको कर्मैयामा र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा भएको छ ।
सिमरा विमानस्थल, जल तथा मौसम कार्यालयको समन्वयमा विभिन्न जिल्लाबाट लिइएको तथ्याङ्क अनुसार आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ सम्मको विवरणमा सर्लाहीको कर्मैया बजारमा २१ दशमलव ६ मिलीमिटर र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा ५ दशमलव ४ मिलीमिटर भएको छ ।
मधेस प्रदेशका ८ जिल्लामध्ये महोत्तरी जिल्लामा भने छिटफुट मात्रै वर्षा भएको छ । सप्तरीको कपानी बजारमा २१ दशमलव ४ मिलीमिटर, रौतहटको चन्द्रपुरमा १६ दशमलव ६ मिलीमिटर, बाराको सिमरा विमानस्थल वरपर १७ दशमलव ४ मिलीमिटर, पर्साको हान्डी बजारमा १६ मिलीमिटर, सिराहाको गोलबजारमा ५ दशमलव ५ र धनुषाको तुलसीमा ८ दशमलव ४ मिलीमिटर वर्षा भएको जल तथा मौसम कार्यालयले सिमराले जनाएको छ ।
सो कार्यालयका सहायक मौसमविद् लक्ष्मण प्रसाद कडेँलले एउटै जिल्लाभित्र पनि केही ठाउँमा छिटफुट वर्षा हुँदा केही ठाउँमा वर्षाको अवस्था शून्य रहेको बताए ।