लालबन्दीमा छुटेका भूमिहीन र सुकुम्बासीलाई निवेदन दिन अन्तिम अवसर

लालबन्दी । लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमध्ये अघिल्ला चरणहरूमा लगत संकलनबाट छुटेकाहरूका लागि निवेदन दिन अन्तिम मौका दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

भूमि समस्या समाधान आयोगसँगको दुई पक्षीय सम्झौताअनुसार नगरपालिकाले यसअघि २०७७ र २०८० सालमा दुई पटक लगत संकलनका लागि सूचना प्रकाशन गरेको थियो । तर, जग्गा नाप नक्सा गर्ने क्रममा फिल्डमा जाँदा केही व्यक्तिहरू छुटेको जानकारीमा आएपछि उनीहरूलाई समेट्नका लागि पुनः अवसर दिइएको हो ।

नगर प्रमुख वासुदेव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार भूमि समस्या समाधान आयोग, ताहाचल, काठमाडौँको निर्देशनबमोजिम छुटेका व्यक्तिहरूका लागि २०८२ साल श्रावण ३० गतेदेखि लागू हुने गरी ३५ दिने अन्तिम सूचना प्रकाशन गरिएको छ । यो अवधिभित्र छुटेका सबै सम्बन्धित व्यक्तिहरूले आवेदन फारम भर्न सक्नेछन् ।

नगरपालिकाले आफ्ना सबै १७ वटै वडा कार्यालयहरूलाई उक्त सूचनालाई सूचना पाटी र अन्य सार्वजनिक स्थानहरूमा टाँस गरी व्यापक प्रचारप्रसार गर्न निर्देशन दिएको छ । इच्छुक व्यक्तिहरूले सम्बन्धित वडा कार्यालयमा गई अनुसूची ३ र ४ को फारम भरेर दर्ता गराउनुपर्नेछ ।

वडा सचिवमार्फत संकलन भएका सबै निवेदनहरू लालबन्दी नगरपालिकाको भूमि शाखामा पठाइने व्यवस्था मिलाइएको छ ।

नगरपालिकाले यसलाई अन्तिम अवसरको रूपमा लिएर कोही पनि वास्तविक भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी नछुटुन् भनी सुनिश्चित गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै