लालबन्दी । देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटा स्थानीय तहमध्ये लालबन्दी नगरपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा लालबन्दी नगरपालिकाले ७८.५० प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो। जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नतिजा अनुसार लालबन्दी नगरपालिकापछि बरहथवा नगरपालिकाले ७४.००, बिष्णु गाउँपालिका ६३.००, ब्रहम्पुरी गाउँपालिका ६१.२५, ईश्वरपुर नगरपालिका ६०.५०, हरिवन नगरपालिका ५७.२५, हरिपुर नगरपालिका ५५.७५ र पर्सा गाउँपालिका ५५.२५ अंक प्राप्त गरेका छन्।
बलरा नगरपालिका ५४.२५, चन्द्रनगर गाउँपालिका ५१.२५, कोडैना गाउँपालिका ५०.७५, बागमती नगरपालिका ५०.५०, हरिपुर्वा नगरपालिका ४८.२५, रामनगर गाउँपालिका ४५.५०, कविलासी नगरपालिका ४५.२५, चक्रघट्टा गाउँपालिका ४४.५०, मलंगवा नगरपालिका ४२.००, बसबरिया गाउँपालिका ४०.००, धनकौल गाउँपालिका ३८.५० र अन्त्यमा गोडैता नगरपालिकाले ३५.७५ अंक प्राप्त गरेका छन्।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० वटा सूचकमा एक सय प्रश्नहरू हुन्छन् । विभिन्न सूचकमा ९ देखि १६ अङ्कसम्म पूर्णाङ्क तोकिएको हुन्छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ।
स्थानीय तहको सबल दुर्बल पक्षहरूको विशेषण गर्ने प्रायोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्नु पर्ने पर्दछ।