‘सिरोहियालाई सचेत नागरिक बनाउन लागिपरेको हुँ, दुश्मनी केही छैन’

लालबन्दी : दुई वटा नागरिकता नम्बर प्रयोग गरी किर्ते गरेको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया यतिबेला हिरासतमा छन्।

धनुषा जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। यद्यपि प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते धनुषा प्रहरीमा जाहेरी परेको थियो।

सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ। शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको थियो।

सिरोहियाविरुद्ध जाहेरी दिने व्यक्ति सर्लाहीको हरिवन निवासी इन्द्रजित प्रसाद महतो हुन्। पेसाले डाक्टर उनी सुरुमा कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। पछि एमाले हुँदै रास्वपा प्रवेश गरेका थिए।

सिरोहियाको नागरिकता किर्तेबारे सर्लाहीन्युजले उनीसँग केही प्रश्न गरेको छ।

तपाईंले कैलाश सिरोहियाविरुद्ध नै किन जानुभयो ?

सचेत नागरिकको हिसाबले काम गरेको हुँ, अब कानुनी राज्य हो भने कानुनले हेर्छ।

तपाईंको पृष्ठभूमि त कांग्रेस रहेछ नि ? के यो सत्य हो त ?

म कांग्रेसमा २ वर्ष बसेको हुँ। त्यसपछि एमालेमा ७ महिनाजति बसेँ। एमाले छाडेपछि चुनावअघि (२०७९ मंसिर) २ दिन अगाडि एमाले पनि छाडेको हुँ। सर्लाही क्षेत्र नम्बर ३ को ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएको थिएँ। लौरो चिह्न थियो। चुनावपछि भने रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) प्रवेश गरेको थिएँ।

कैलाश सिरोहियासँग चिनजान थियो वा कुनै व्यक्तिगत कारणले मुद्दा हाल्नुभएको हो त ?

ठूलो मान्छेसँग हाम्रो चिनजान कहाँ हुन्छ र ? सचेत नागरिक भएर मुद्दा हालेको हो। सचेत नागरिक भएर मैले यो विषय उजागर गरेको हुँ।

उहाँ (सिरोहिया) ले गल्ती नै गर्नुभएको हो त ?

अब सरकारको काम हो गल्ती पत्ता लगाउने हो। गल्ती छैन भने नागरिकताको केसमा डराउनुपर्दैन। राम्रो भयो भने जिन्दगीभर उहाँको दाग हट्छ। तर छानबिन त गर्नुपर्छ पनि। कानुननी प्रक्रिया हो अब अदालते हेर्छ। हामी त न्यायाधीश होइनौँ।

अनि यो त राजनीतिक दाउपेच र रास्वपासँग जोडिनुभएकाले तपाईंले मुद्दा हाल्नुभएको भन्छन् नि ?

हेर्नुस् म हरिवनको अस्पतालको डाक्टर हो। नेपालमा ९० प्रतिशत मानिस कुनै न कुनै पार्टीमा जोडिएका छन् जस्तो मलाई लाग्छ। स्वतन्त्र मान्छे नै छैनन् नेपालमा। टिचर होस् वा जोसुकै होस् सबै पार्टीमा छन्। देशको हितमा लाग्ने पार्टीमा हुनु ठीकै कुरा त हो नि। दुश्मनी भएर मुद्दा हालेको होइन। उहाँ (सिरोहिया) ले सच्याएर आएर झन् राम्रो हो। मुद्दा बेलैमा सल्टाउँदा राम्रो हो नि। हैन र ?

सम्बन्धित समाचार

सबै