हरिपुर्वा : रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा रहेको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो ।
चोरी भएको ट्र्याक्टर भोलिपल्ट गत साउन १० गते सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११, सडक छेउ खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्याक्टर चोरीमा संलग्न दुईजना लाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।
पक्राउ परेकाहरूलाई चोरीमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।