लालबन्दीमा २५ केजी गाँजासहित एक युवक पक्राउ, अर्का फरार

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका दुई युवामध्ये एक जना पक्राउ परेका हुन् भने अर्का एक जना फरार रहेका छन्।

पक्राउ पर्नेमा जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन्। उनको साथबाट पाँचवटा पोकामा रहेको २५ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार, चुरेभेगबाट गाँजा ल्याइँदै गरिएको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। त्यसक्रममा नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेका थिए।

मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामिटारका ब्लोनलाई पछ्याउँदै जाँदा प्रहरीले पक्राउ गर्न सफल भएको हो। प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट उक्त २५ केजी गाँजा बरामद भएको इन्स्पेक्टर जोहारीले जानकारी दिए।

पक्राउ परेका ब्लोनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। यता, फरार रहेका मोटरसाइकलमा सवार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको लालबन्दी प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै