लालबन्दी । नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको छ ।
वडाध्यक्ष यादवमाथि चार जना व्यक्तिहरूले झुटो वतन र विवरणसमेत पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा लिन खोजेको कसुरमा सिफारिस तथा सनाखत गरी सहयोग गरेको आरोप लागेको छ ।
यो घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको असार ३ गतेको पत्र प्राप्त भएपछि प्रहरीले नागरिकतासम्बन्धी कसुर मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्ष यादवको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका वडाध्यक्ष यादवमाथि थप अनुसन्धान जारी छ ।