जनकपुरधामः किर्ते नागरिकतासम्बन्धी विवादमा हिरासमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।
उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई अस्पताल भर्ना गरिएको जनाइएको छ।
चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो। उनमा डायबेटिज, उच्च रक्तचापलगायत समस्या रहेको बताइएको छ। सिरोहियालाई एक्कासि टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्नेजस्ता समस्या आएको भन्दै प्रशासनले उनलाई अस्पता भर्ना गरेको जनाएको छ।
प्रादेशिक अस्पतालमा जनकपुरधाममा उनको स्वास्थ्य परीक्षण हुन नसकेको भन्दै उनलाई त्यहीँको काव्या अस्पताल लगिएको हो।
धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको छ।