पर्सा : सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । उनका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी महिलाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार महिलाको खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।