लालबन्दी । करिब १६ वर्षअघि सर्लाहीमा भएको कर्तव्य ज्यान र डाँका कसुरको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।
सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६, मदनपुर टोलस्थित घटनामा संलग्न भनिएका २५ वर्षीय महेन्द्र रायलाई शुक्रबार दिउँसो २ बजे पक्राउ गरिएको हो । पक्राउपछि उनलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना विवरणअनुसार २०६३ साल माघ ७ गते साँझ करिब ६ः३० बजेको समयमा सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६ ९तत्कालीन जमुनिया गाविस वडा नम्बर ६० स्थित मदनपुर पनपिया पोखरी नजिकै सो घटना भएको थियो ।
सो दिन साँझ ७ः३० बजेतिर सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर १ तत्कालीन पडरिया गाविस वडा नम्बर १० बस्ने राजेन्द्र प्रसाद चौधरी आफ्नो छोरा सन्तोष चौधरी र जैसवालले चलाएको मोटरसाइकलमा पसलबाट घरतर्फ फर्किँदै गर्दा महेन्द्र राय समेतका व्यक्तिहरुले उनीहरुको मोटरसाइकल रोकेका थिए ।
त्यस क्रममा राजेन्द्र प्रसाद चौधरीको साथमा रहेको १६ हजार रुपैयाँ डाँका गरी लुटपाट गरिएको थियो। लुटपाटपछि प्रतिवादी महेन्द्र रायसमेतले गोली प्रहार गरी राजेन्द्र प्रसाद चौधरीको कर्तव्य ज्यान लिएको जाहेरवाला मृतकका छोरा सन्तोष चौधरी र जैसवालले २०६३ साल माघ ८ गते किटानी दरखास्त दिएका थिए । उक्त जाहेरी दरखास्त सोही मितिमा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो ।
लामो समयदेखि फरार रहेका आरोपित महेन्द्र रायलाई करिब १६ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो। हाल महेन्द्र रायलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।