रौतहट । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, धम्कीजस्ता आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ टेकानटोल निवासी अन्दाजी २५ वर्षीय सोम गुरुङ रहेका छन् । उनलाई आइतबार साँझ वसन्तपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गुरुङले चन्द्रपुर–४ का निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई सामाजिक सञ्जालमार्फत उनकै निवासमा गएर मार्ने धम्की दिएको पोस्ट गरेपछि रौतहट जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो ।
गुरुङले यसअघि पनि कार्कीलाई पटक–पटक धम्की दिने गरेका र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने गतिविधि गरेका प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार गुरुङलाई पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।