लालबन्दी : विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका-१, हजारबिघा घर भएकी ४५ वर्षीया रोहिता कोइराला अधिकारी रहेकी छिन्।
श्रीमान विमल कोइरालाले चलाइरहेको मोटरसाइकलको पछाडि सवार रहेकी अधिकारीको मालवाहक सवारीको ठक्करपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना निकै दर्दनाक थियो ।
मोटरसाइकल चालक मृतकका श्रीमान् भने सकुशल रहेका छन्। अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।