लालबन्दी । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ। शुक्रबार साँझ वडाध्यक्ष यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या भएको हो।
प्रहरीका अनुसार वडाध्यक्ष मिथिला बिहारी नगरपालिका वडा ९ अन्दुपट्टीमै रहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन।
यसबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरिसकेको छ। हत्याको कारण र हत्यामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।