मलंगवा : लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेशलाई हेलाँ गरिरहेको आरोप लगाएका छन्।
पार्टीले आइतबार सदरमुकाम मलंगवामा आयोजना गरेको सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले त्यस्तो आरोप लगाएका हुन्।
‘मधेशको मुद्दामा सरकारले पटक-पटक सम्झौता गर्ने तर पूर्ण रूपमा कार्यान्वयन नगर्ने प्रवृत्ति कायम रहँदा मधेशीले अपमान महसुस गर्नुपरिरहेको छ’, ठाकुरले भने, ‘केपी ओली, शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा भएका सम्झौता आंशिक रूपमा मात्र लागू भएको छ, पूर्ण रूपमा कार्यान्वयन नै भएको छैन।’
अझै पनि जनसंख्याखाका आधारमा राज्यमा मधेशीको प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै ठाकुरले मधेसका गौतम बुद्ध, माता सीतालगायत नेपालको भनेर चिनाउने तर मधेशबासीलाई नेपाली नै हैनन्,’ जस्ता व्यवहार भइरहेको गुनासो गरे।
पार्टी संगठनका बारे वडा-वडामा कमिटी गठन गरेर संगठन निर्माणलाई तीव्रता दिन ठाकुरले कार्यकर्तालाई आग्रह गरे।
‘राज्यले नै गल्ती गरेर सिरोहिया थुनामा परे’
अध्यक्ष ठाकुरले राज्यकै निकायको गल्तीका कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थुनामा परेको जनाएका छन्। नागरिकताको बहाना बनाएर सिरोहियालाई पूर्वाग्राही ढंगले थुनामा राखेको भन्दै सरकारलाई ठाकुरले सचेतसमेत गराए।
विजय ठाकुरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री शरद सिंह भण्डारी, मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, मधेश प्रदेश सभामा पार्टीका उपनेता उपेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।