सर्लाहीमा ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु भएपछि चालक फरार

हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

बिहिबार साँझ करिब ७ः३० बजे ना.अ.प.अ. ३७८ नम्बरको ट्र्याक्टर पार्किङ गर्ने क्रममा ट्रलीमा सवार अन्दाजी ४ देखि ५ वर्षका आर्यन राय ट्रलीबाट खसेर गम्भीर घाइते भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पर्सा सर्लाहीबाट प्रहरी नायब निरीक्षक शम्भु यादवको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब ७ः४५ बजे घटनास्थल पुगेर गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

प्रहरीका अनुसार घाइते बालकलाई अस्पताल पुर्‍याई उपचार गर्ने क्रममा साँझ करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक राम प्रवेश रायका छोरा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै फेला परे पनि चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै