काठमाडौं । उखु किसानले आजदेखि गर्ने भनेको आन्दोलनको कार्यक्रम स्थगित भएको छ।
हिजो कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान गर्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।
उखु किसानले आजदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालीन रूपमा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेका थिए। उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल ३५ रुपियाँ भुक्तानी गर्न र यस वर्ष २०८२/८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै गत साता मन्त्री परियारसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री परियारले माग सम्बोधनका लागि दुई हप्ता समय माग गरेकाले तत्काल आन्दोलन रोक्ने निर्णय गरिएको नेपाल उखु उत्पादक महासंघले जनाएको छ।
उखु खेती हुने महोत्तरी, सिराहा, सुनसरी, रौतहट, बारा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लाका किसानले सर्लाहीको हरिवनबाट आन्दोलन थाल्ने गर्ने निर्णय गरेका थिए।
सरकारले गत वर्ष उखु किसानलाई अनुदानबापत प्रतिक्विन्टल ७० रुपियाँ भुक्तानी गर्ने निर्णय गरी ३५ रुपियाँका दरले मात्रै पैसा पठाएपछि किसान असन्तुष्ट छन्।