रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम दुरुपयोग भएको प्रमाण भेटिएपछि सातजना कर्मचारी र एक संस्थामाथि काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार मुद्दा दायर गरिएका कर्मचारीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेककुमार सहनी, सहायक पाँचौँ स्तरका कर्मचारी राम नरेशप्रसाद यादव, कम्प्युटर अपरेटर उमेशकुमार दास, खरिदार कौशलकिशोर चौधरी, छोटेलाल मिश्र लगायत गरी ७ कर्मचारी छन्।
त्यसैगरी काठमाडौंस्थित सरिता फाउण्डेशन र सो संस्थाकी निर्देशक सरिताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियारका अनुसार तत्कालीन मेयर सियाराम कुशवाहाको कार्यकालमा आर्थिक वर्ष २०७७/७८ मा नगरसभाले स्वीकृत नै नगरेको बजेटबाट सरिता फाउण्डेशनको नाममा ५ लाख रुपैयाँको चेक काटियो। मिलेमतोमा रकम हिनामिना गरिएको उजुरी परेपछि आयोगले अनुसन्धान चलाएको थियो।
अनुसन्धानबाट उक्त रकम अनियमित रूपमा भुक्तानी लिई–दिई नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको क्षति पुगेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले सबै अभियुक्तसँग प्रतिव्यक्ति ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। यो प्रकरणको सुनुवाइ विशेष अदालत काठमाडौँमा हुनेछ।