लालबन्दी । सर्लाहीको लालबन्दीबाट ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
शुक्रबार प्रहरीले ५२ किलो गाँजासहित लालबन्दी नगरपालिका-१४,नारायणखोला बस्ने २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार वाइवा बा. १२ च. ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए। प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका–११,हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।