लालबन्दी । सर्लाहीको लालबन्दी बजार क्षेत्रमा विगत केही महिनादेखि भइरहेका घर चोरीका घटनामा संलग्न चार जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट चोरी भएका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मानिस नभएको मौका पारी घरको ताल्चा फुटाएर चोरी हुने गरेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले गोप्य रूपमा निगरानी बढाएको थियो । अनुसन्धानका क्रममा लालबन्दी नगरपालिका–७ मा रहेको आरके ज्वेलर्सका सञ्चालक रमेश विक र वडा नम्बर ६ बस्ने साईरा ज्वेलर्सका सञ्चालक कुमार विश्वकर्माले सुनको बिल भर्पाइ नभएका गरगहना खरिद गरेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाका आधारमा दुवै जनालाई निगरानीमा राखी सोधपुछ गर्दा सर्लाही धनकौल गाउँपालिका– ६ बस्ने विदेशी साहकी श्रीमती वर्ष ३५ की पिंकी देवी साहसमेत भई चोरीको एउटा तिलहरी १ लाख ४४ हजारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुरज कुमार साह र पिंकी देवी साहलाई नियन्त्रणमा लिई सोधपुछ पश्चात् परिवर्तित २२ लालबन्दीको कोठा खानतलासी गर्दा दराजमा लुकाएर राखेका विभिन्न गरगहना र नगद रकमसमेत फेला परेको थियो ।
बरामद गरिएका गरगहनाहरू पीडितलाई सनाखत गराउँदा २०८२ मंसिर २३ गते दिउँसो लालबन्दी–९ बस्तीपुर बस्ने प्रमोद कुमार लुईटेलको घरबाट चोरी भएको भनी उनले सनाखत गरेका छन् ।
लुईटेलले दिएको जाहेरी दरखास्तका आधारमा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लालबन्दी १० चन्द्रनगर बस्ने ४२ वर्षीय रमेश विक (आरके ज्वेलर्सका सञ्चालक तथा सुन खरिदकर्ता), लालबन्दी–६ बस्ने ३१ वर्षीय कुमार विश्वकर्मा (साईरा ज्वेलर्सका सञ्चालक तथा सुन खरिदकर्ता), धनकौल गाउँपालिका–५ की हाल लालबन्दी–७ मा डेरा गरी बस्ने ३५ वर्षीया पिंकी देवी साह (सुन बिक्रीमा संलग्न) र चोरीमा संलग्न २२ वर्षीय परिवर्तित रहेका छन् ।