लालबन्दी । सर्लाहीको लालबन्दी बजार वडा क्षेत्रमा विगत केही महिनादेखि घरमा मानिस नभएको मौका छोपी ढोकाको ताल्चा फुटाएर भइरहेका चोरीका घटनामा संलग्न एक गिरोहलाई इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न मुख्य व्यक्ति, चोरीको सामान खरिद गर्ने सुन पसले र बिक्रीमा संलग्न महिलालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सूक्ष्म रुपमा अनुसन्धान र खोजीकार्य गर्ने क्रममा लालबन्दी नगरपालिका वडा नं ७ मा रहेको आरके ज्वेलर्सका सञ्चालक ४२ वर्षीय रमेश विक र साइरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विकले सुनको बिल भरपाई नभएका गरगहना खरिद गरेको विशेष सूचना प्राप्त भएको थियो । उनीहरू दुवैलाई निगरानीमा राखी सोधपुछ गर्दा सर्लाही धनकौल गाउँपालिका–६ घर भई लालबन्दी नगरपालिका–७ मा कोठा लिई बस्ने ३५ वर्षकी पिंकी देवी साहले उक्त गरगहना बिक्री गरेको खुलेको थियो ।
प्रहरीले पिंकी देवी साहलाई नियन्त्रणमा लिई सोधपुछपश्चात कोठा खानतलासी गर्दा दराजको लकरबाट सुनजस्तो देखिने पहेँलो धातुको तिलहरी थान–१, टप थान–२, मंगलसूत्र थान–१, औँठी थान–१, बाला थान–१, गेडी थान–८ र नगद १ लाख २ हजार ५ सय ६० रुपैयाँ बरामद गरेको थियो । बरामद गरिएका गरगहनाहरू पीडितहरुलाई सनाखत गराउँदा चोरी भएकै गरगहना भएको पुष्टि भएको थियो ।
यस चोरी कार्यमा संलग्न मुख्य चोर, बिक्रीमा संलग्न व्यक्ति र खरिदकर्ताहरुलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको थियो ।
अनुसन्धानका क्रममा महोत्तरीको औराही गाउँपालिका–२ बस्ने २४ वर्षका रविन महतो समेतको संलग्नतामा चोरी भएको तथ्य खुलेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले मिति मंसिर १७ गते स्थानीय प्रहरीको सहयोगमा रविन महतोलाई नियन्त्रणमा लिएको छ ।
निजको घर खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातुको झुम्का थान–२, टप थान–२, औँठी थान–१, छड्के तिलहरी थान–१, नेक्लेस थान–१, ल्यापटप थान–१ र चोरी गर्न प्रयोग भएका औजार थान–५ सहित बरामद गरिएको छ ।
रबिन महतोलाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।