लालबन्दी । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन गाविस सचिव राम प्रकाश सिंह दनुवारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
योग्यता नपुगेका व्यक्तिलाई नक्कली स्थायी नियुक्ति पत्र बनाएर सरकारी कोषबाट तलब भत्ता खुवाएको भन्दै अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा यादवले आफ्नो उमेर १८ वर्ष नपुग्दै २०६४ सालमै अस्थायी नियुक्ति पाएको भनी सरकारी कागजातमा केरमेट र थपघट गरेको फेला परेको छ। यादवको जन्म मिति २०४७ असोज ५ गते रहेको र २०६४ असोज मसान्तसम्म उनको उमेर १७ वर्ष २५ दिन मात्र पुगेको अख्तियारले जनाएको छ। नागरिकता नै नबनेको समयमा नियुक्ति लिएको भनी झुट्टा विवरण पेश गरेर उनले आर्थिक वर्ष २०७८र७९ देखि स्थायी नियुक्ति लिएका थिए।
यसअघि २०७३ सालदेखि करारमा कार्यरत रहेका यादवले करार रद्द भएपछि पुरानै मितिमा स्थायी नियुक्ति पाएको देखाउन तत्कालीन सचिव दनुवारसँग मिलेमतो गरेको पुष्टि भएको छ। हरिपूर्वा गाविसको लेटर प्याड प्रयोग गरी २०७१ भदौ ३१ गते तयार पारिएको भनिएको स्थायी नियुक्ति पत्र नक्कली भएको र सोको कुनै पनि आधिकारिक अभिलेख निजामती किताबखाना वा कर्मचारी सञ्चय कोषमा नरहेको अनुसन्धानबाट खुलेको छ।
सरकारी लिखतको दुरुपयोग गरी राष्ट्रसेवकको पदमा गैरकानूनी रुपमा नियुक्ति लिई तलब, भत्ता र सञ्चय कोषको सुविधा लिएर राज्यलाई नोक्सानी पुर्याएको भन्दै अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरेको छ।