गोडैता । डेढ वर्षअघि चितवनको भरतपुर–२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ ।
आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको फला पारेको हो । खोजी कार्यमा खटिएका सशस्त्र प्रहरी हवल्दार ललितबहादुर काम्चाले उत्खनन गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको जानकारी दिए । उनले अझै उत्खनन कार्य भइरहेको बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गणपति डिलक्स नै रहेको पुष्टि भएपछि खोजी कार्यलाई थप निरन्तरता दिइने बताए ।
२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए, अरु सबै बससँगै बगेका थिए ।
दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोरसमेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन । यो बस काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको थियो ।
प्रदेश ०३-०००१ ख २४९५ नम्बरको यो बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए भने बस किशोर कुमार चौधरीले चलाएका थिए ।