लालबन्दी : बढ्दो गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि सर्लाहीका विभिन्न स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन्।
बरहथवा र लालबन्दी नगरपालिकाले पठन पाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। लालबन्दी नगरपालिकाले भने पोलियो खोविरुद्धको राष्ट्रव्यापी आईपिभी अभियान पनि सञ्चालन गर्नुपर्ने भएकाले विद्यालयमा पठनपाठन नगर्न भनेको छ।
हिजो एक सूचना प्रकाशित गर्दै लालबन्दी नगरपालिकाले जेठ १७ गतेसम्म विद्यालयमा पठनपाठन नहुने जनाएको हो।
त्यस्तै हिजो नै बरहथवा नगरपालिकाले पनि विद्यालय बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको थियो। जसअनुसार जेठ १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ। अहिले दिने गर्मी बिदा बर्खे बिदाबाट कट्टा हुनेगरी मिलाउन पनि नगरपालिकाले अनुरोध गरेको छ।
तराई तथा मधेशमा पछिल्ला केही दिनयता तातो हावाको लहरसँगै बढेको गर्मीले जनजीवन प्रभावित बनेको छ। तापक्रममा उल्लेख्य वृद्धि हुँदा विद्यालय क्षेत्र सबैभन्दा बढी मारमा परेको छ।