सर्लाही । जेनजी आन्दोलनको मौका छोपी रौतहट कारागारबाट फरार भएका एक कैदीलाई करिब सात महिनापछि सर्लाहीबाट पक्राउ गरिएको छ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका दिपेश साह सोनार भन्ने शेरु साहलाई सर्लाहीको ईश्वरपुर नगरपालिका-६ बयलबासमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका वडा नं. ५ वडहर्वा टोलका २९ वर्षीय दिपेश साह सोनार भन्ने शेरु साह २०८२ भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपी रौतहट जिल्ला कारागार कार्यालयबाट भागेका थिए। उनी जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय भोग्दै आएका थिए र कैद सजायको ३ वर्ष ९ महिना भुक्तान गरिसकेका थिए।
इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब १ बजेको समयमा फरार कैदी शेरु साहलाई ईश्वरपुर न.पा ६ बयलबासमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उक्त स्थान इलाका प्रहरी कार्यालय केशरगञ्जबाट करिब १ किलोमिटर दक्षिण-पश्चिममा पर्छ।
नियन्त्रणमा लिएलगत्तै निजलाई थप आवश्यक कारबाहीका लागि जिल्ला कारागार कार्यालय रौतहटमा पठाइएको प्रहरीले जनाएको छ।