महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत

जलेश्वर । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीको बथनाहामा आज बिहान भएको सडक दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुने तीनै जना २० वर्ष उमेरका विद्यार्थी हुन् । जसअनुसार जलेश्वर नगरपालिका–६ का शुभाष दास । सोही ठाउँका रवि दास र एकडारा गाउँपालिका–३ का अभिषेक मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार घटनास्थलमा जलेका शवहरूको आफन्तले पहिचान गरेपछि मात्र सनाखत भएको हो ।

दुर्घटनामा अन्य तीन जना युवक गम्भीर घाइते भएका छन् । उनीहरूमा जलेश्वर नगरपालिका–६ रोहित दास र
अभय कापर र एकडारा गाउँपालिका–५, बथनाहाका अजय कापर रहेका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सबै