महोत्तरी । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा विगत तीन वर्षदेखि जनशक्ति अभावका कारण थन्किएर बसेका डायलासिस मेसिन एक साताअघि सञ्चालनमा आएको छ । डायलासिस सेवा सुरु भएसँगै मिर्गौला रोगी र उनीहरूका परिवारलाई राहत मिलेको छ ।
अस्पतालमा आइसीयू, एनआइसीयू तथा अन्य विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने माग पनि बढ्दो छ ।एक साताअघि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री जङ्गीलाल राय, मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादव तथा अस्पतालका निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवले संयुक्त रूपमा डायलासिस युनिट उदघाटन गरेका थिए ।
अस्पतालमा रहेका ६ थान डायलासिस मेसिनमध्ये पाँच थान नियमित सञ्चालनमा आएको छ भने एक थान आकस्मिक अवस्थाका लागि जगेडामा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवका अनुसार लामो समयदेखि मेसिनहरू जनशक्ति र व्यवस्थापन अभावका कारण सञ्चालनमा आउन सकेका थिएनन् । अहिले आवश्यक प्राविधिक जनशक्ति उपलब्ध भएपछि सेवा सुचारु गरिएको र यसले जलेश्वरसहित आसपासका क्षेत्रका बिरामीलाई ठुलो राहत भएको उनले बताए ।
आगामी दिनमा आइसीयू, एनआइसीयू तथा डिजिटल स्वास्थ्य सेवा सुरु गर्ने गरी गृहकार्य भइरहेको छ। अस्पतालको सेवा विस्तारमा कर्मचारी, स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताइएको छ।
यसअघि जलेश्वरका बिरामीलाई डायलासिसका लागि जनकपुरदेखि काठमाडौँसम्म सिफारिस गरेर पठाउनुपर्ने अवस्था रहेको अब आफ्नै ठाउँमा सेवा सुरु भएकाले ठुलो राहत पुगेको बताए ।
यसअघि जिल्लामा एउटा पनि डायलासिस मेसिन सञ्चालनमा नहुँदा मिर्गौला रोगीले जनकपुरसहित बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता थियो । यसले समय र खर्च दुवैमा दोहोरो मार परेको थियो ।
चिकित्सकहरूका अनुसार मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अवस्थामा डायलासिस आवश्यक हुन्छ । नेपाल सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ, जसले आर्थिक रूपमा कमजोर बिरामीलाई थप राहत दिएको छ ।
हाल जलेश्वर अस्पतालसँग पाँच जना मिर्गौलाका बिरामी नियमित सम्पर्कमा छन् । सेवा सुरु भएसँगै बिरामीको चाप अझ बढ्ने अपेक्षा गरिएको छ ।
यता, डायलासिस सेवा सुरु भएसँगै स्थानीयवासीले अब आइसीयू सेवा तत्काल सञ्चालन गर्न माग गरेका छन् ।
कोरोना कालमै प्रादेशिक अस्पताल जलेश्वरमा पाँच शय्याको भेन्टिलेटरसहितको आइसीयू जडान गरिएको भए पनि जनशक्ति अभावका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
हाल अस्पतालमा १५ शय्याका स्थायी दरबन्दीमात्रै छ भने ५० शय्याको अस्थायी दरबन्दी छ, जसको म्याद हरेक तीन–तीन महिनामा थप्नुपर्ने अवस्था छ । यही कारण सेवा विस्तारमा निरन्तर समस्या देखिएको अस्पताल प्रशासनको गुनासो छ ।
लामो समयदेखि लथालिङ्ग र रेफर केन्द्रको छवि बोकेको जलेश्वर अस्पतालमा डायलासिस सेवा सुरु हुनु सकारात्मक भए पनि स्थानीयले अस्पताललाई पूर्ण रूपमा सेवा–सुविधा सम्पन्न बनाउँदै आइसीयू, एनआइसीयू तथा अन्य विशेषज्ञ सेवा शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।