सर्लाही नाकाबाट तस्करी गरी भारत पुर्‍याइएको ठूलो परिमाणको चिनियाँ सामान बरामद

मलंगवा । सर्लाहीका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भारततर्फ तस्करी गरी पठाइएको ठूलो परिमाणको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

सर्लाहीको सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्‍याइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बरामद गरेको हो ।

शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबीको टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअप गाडीमा लोड गरिएको अवस्थामा ती सामान फेला पारेको हो । चेकजाँचका क्रममा कागजात नभएपछि एसएसबीले सामान र गाडी नियन्त्रणमा लिएको थियो ।

एसएसबीका अनुसार बरामद गरिएको सामानमा ६७ पोका (करिब १ हजार २०६ किलोग्राम) चिनियाँ लसुन र ३ हजार ७२४ किलोग्राम काँक्रोको बीउ रहेको छ । तस्करीमा संलग्न रहेको आरोपमा भारतीय सुरक्षाकर्मीले दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्ति, सामान र प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि सीतामढीस्थित सोनबरसा भन्सार कार्यालयमा बुझाइएको भारतीय पक्षले जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीको सामान फेला पर्नुले सर्लाहीका नाकाहरूबाट हुने अवैध कारोबार अझै पनि सक्रिय रहेको पुष्टि गर्छ ।

लामो समयदेखि सर्लाहीका विभिन्न नाकाहरू चिनियाँ सामान र अन्य वस्तुको तस्करीका लागि मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएका छन्, जसले सीमा सुरक्षा र भन्सार प्रशासनमाथि प्रश्न खडा गरेको छ ।

सम्बन्धित समाचार

सबै