सर्लाहीमा जन्ती र स्थानीयबीच झडप, कुटपिटबाट दुई युवक घाइते

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुक्नाहाचोकमा जन्ती आएका युवक र स्थानीयबीच विवाद हुँदा कुटपिटबाट दुईजना युवक घाइते भएका छन्।

महोत्तरीको गौशाला नगरपालिका-७ मनहर्वाबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-७ मोहनगंजका लागि आएको जन्ती टोलीमा सहभागी युवकहरूमाथि स्थानीयले आक्रमण गरेका हुन्। घाइते हुनेहरूमा २७ वर्षीय सुजित यादव र ३२ वर्षीय सुशील यादव रहेका छन्। घाइते दुवैको हरिपुर्वा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

आइतबार राति साढे १० बजेको समयमा सुक्नाहाचोकमा जन्ती र स्थानीयबीच सामान्य विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि स्थानीयको समूहले उनीहरूमाथि कुटपिट गरेको थियो।

आक्रमणबाट युवकहरू सवार बीआर ३० एपी ४७३० नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ। प्रहरीले क्षतिग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ। कुटपिटमा संलग्न स्थानीय व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै