मलंगवा । सर्लाही प्रहरीले भन्सार छली गरेर अवैध रूपमा नेपाल भित्र्याइएका कपडा तथा किराना सामानसहित चार वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले गए राति करिब १२ बजे पर्सा गाउँपालिका क्षेत्रबाट उक्त सामान बरामद गरेको हो । प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका मोटरसाइकल र त्यसमा लोड गरिएका सामान जाँच गर्न खोज्दा तस्करहरू सवारी साधन छाडेर फरार भएका थिए ।
प्रहरी टोलीलाई देख्नेबित्तिकै सामान र मोटरसाइकल छाडेर व्यक्तिहरू फरार भएपछि प्रहरीले घटनास्थलबाट कपडा, किराना सामान र बि आर ३० एच २६२८, बि आर ३० एफ ३०८७, बि आर ३० एच ०५३५ र बि आर ३३ जी ३१७५ नम्बरका चार वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिन्देश्वर यादबका अनुसार बरामद गरिएका सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ६ लाख ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
नियन्त्रणमा लिइएका सबै सामान र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ ।