सांसद कार्कीले मागिन् नवलपुर सर्पदंशमा जनशक्ति र उपकरण

लालबन्दी । प्रतिनिधिसभा सदस्य नितिमा कार्कीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा जनशक्ति तथा अत्यावश्यक उपकरणको अभावका कारण सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।

तराई क्षेत्रमा सर्पदंशका घटनाहरू बढ्दै गएको र यस केन्द्रले बर्सेनि ठूलो संख्यामा सर्पदंशका बिरामीलाई सेवा प्रदान गर्दै आएको पत्रमा उल्लेख छ । तर, हाल आइ.सी.यू. सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति, भेन्टिलेटर सञ्चालन गर्न सक्ने प्राविधिकको कमी तथा आपत्कालीन सेवाका लागि अत्यावश्यक उपकरणको अभावले गर्दा बिरामीलाई समयमै प्रभावकारी उपचार दिन कठिन भइरहेको कार्कीले बताएकी छन्।

यस अवस्थाले गम्भीर बिरामीहरूको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले उक्त केन्द्रमा सेवा प्रभावकारी बनाउनका लागि आईसीयू तथा भेन्टिलेटर सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन, एम्बुलेन्स सेवा सहित आपत्कालीन स्वास्थ्य सेवा सुदृढीकरण र एक्सरे मेसिन लगायत आवश्यक उपकरण उपलब्ध गराइदिन मन्त्रालयलाई आग्रह गरेकी छन् ।

सर्पदंशका बिरामीहरूको जीवनरक्षाका लागि यो पहल तत्काल आवश्यक रहेको उनको जोड छ ।

सम्बन्धित समाचार

सबै